पाल्पाको लाखे नाच पोखरामा देखाइने

पाेखरा | साउन ३१, २०८१

पाल्पाको लाखे नाच पोखरामा देखाइने

पोखरा:     पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ । सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ ।


न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित यहाँ आउने छ । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्षसमेत सिटिजन फर्निचरको आँगनमा भैरव नाच देखाइएको थियो ।


आफ्नो गाउँठाउँको संस्कृति संरक्षण गर्ने तथा पोखरा र पाल्पाबीच संस्कृति आदानप्रदान गर्ने उद्देश्यले पोखरामा नाच ल्याउन लागिएको उनले बताए ।


पोखरा झैं पाल्पामा नेवार समुदायको वस्ती बाक्लो छ । त्यहाँ यो नाचको ऐतिहासिक महत्व छ । पाल्पाली राजा मणिमुकुन्द सेन राजा भएको बेला आफ्नो राज्य बिस्तार क्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिसँग अति प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन ल्याएको किंबदन्ती छ । 


उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आए । ५ सय वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा बाजाको ताल, नाच्ने कला अन्य ठाउँको भन्दा भिन्न छ । भीमसेन गुठी भैरवस्थानले यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच देखाइसकिएको छ ।


पोखरामा नाच देखाउन पाल्पाली समाज पोखरा, पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारीका संस्था लि., पाल्पा कोलोनी लगायतले पनि सहकार्य गरेको पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । उनले पाल्पा र पोखराबीच विभिन्न समुदायका कला, सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै जाने र दुई शहरलाई कला संस्कृतिसँग जो‍डेर पर्यटन प्रवद्र्धन गर्दै जाने पाल्पालीहरुको उद्देश्य रहेको बताए ।


यसबाट पाल्पा र पोखराबीच संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास लिइएको पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले बताए ।


पोखरामा पनि हालैमात्र प्रतियोगितात्मकरुपमा लाखे नाच देखाइएको थियो । लाखे नाच खासगरी नेवार समुदायमा पर्ने अनिष्ट निवारणको मुख्य आधार मानिँदैआएको छ । श्रावण घण्टाकर्ण चतुदर्शी अर्थात् गठेमंगलदेखि विशेष पूजा आराधनाका साथ सुरु हुने यो नाच श्रीकृष्ण जन्माष्टमीसम्म देखाउने प्रचलन छ । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्